काठमाडौँ । गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका रामेछापका ४४ जना नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र पार्न रामेछापका प्रतिनिधिसभा सदस्य डा. कृष्णहरि बुढाथोकीले सरकारसँग माग गरेका छन् । अर्थ समितिका सभापति समेत रहेका बुढाथोकीले संसद् बैठकमा बोल्दै बेपत्ताहरूको अवस्था पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बाढीका कारण रसुवामा कार्यरत रामेछापका कुल ८० जना बेपत्ता भएका थिए । जसमध्ये हालसम्म ३६ जना परिवारको सम्पर्कमा आएका छन् भने रामेछापकै रामहरि खड्काको दुःखद निधन भएको पुष्टि भएको छ । बाँकी ४४ जना अझै पनि बेपत्ता रहेकाले उनीहरूको अवस्था अज्ञात छ ।

संसद्मा बोल्दै सांसद बुढाथोकीले बेपत्ताका परिवारहरू अत्यन्तै पीडामा रहेको उल्लेख गरे । ‘विपद्‌मा हराइरहनुभएका आफन्तहरू ठुलो पीडामा हुनुहुन्छ । परिवारजनले मलाई निरन्तर सम्पर्क गरी आफ्ना प्रियजनको खोजीका लागि आग्रह गरिरहनुभएको छ,’ उनले भने, ‘हराइरहनुभएका नागरिकको सकुशल खोजी र उद्धारमा सरकारले उच्च प्राथमिकता दिँदै थप प्रभावकारी पहलकदमी गरोस् ।’

रामेछाप जिल्ला चार वटा हिमनदीले घेरिएको र छ्योरोल्पा हिमताल अत्यन्तै जोखिमपूर्ण अवस्थामा रहेको स्मरण गराउँदै सांसद बुढाथोकीले विपद् आउनुअघि नै जीवन जोगाउने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए । उनले हिमताल, नदी र जलाधार क्षेत्रको निरन्तर वैज्ञानिक अनुगमन गर्न र भरपर्दो पूर्व सूचना प्रणाली जडान गर्न माग गरे ।

विपद् व्यवस्थापनका लागि स्वचालित साइरन, मोबाइल अलर्ट र समुदायस्तरमा उद्धार क्षमता अभिवृद्धि गर्नुपर्ने उनको सुझाव छ ।

जलवायु परिवर्तनका कारण नेपालका हिमालहरू पग्लिने र प्राकृतिक विपद् बढ्ने क्रम तीव्र भएको भन्दै डा. बुढाथोकीले अन्तर्राष्ट्रिय मञ्चहरूमा ‘जलवायु न्याय’ को मुद्दालाई अझ बलियो रूपमा उठाउन सरकारसँग आग्रह गरेका छन् ।