२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले विपद्को समयमा पेट्रोलियम पदार्थ र विशेषगरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्यवृद्धिप्रति आपत्ति जनाएका छन्।

नेपाल आयल निगमले बाढीपीडितलाई २५ लाख रुपैयाँ बराबरको राहत दिएको देखाएर आम उपभोक्ताबाट भने मासिक साढे ११ करोडभन्दा बढी रकम असुल्न खोजेको भन्दै उनले सरकार र निगमको आलोचना गरेका हुन्।

शनिबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको ‘रसुवा बाढीपछिको आपूर्ति तथा मूल्य शृंखलामा परेको प्रभाव र चुनौती’ विषयक कार्यक्रममा बोल्दै सांसद कार्कीले ग्यासको मूल्यवृद्धिले विपन्नदेखि मध्यम वर्गसम्मलाई प्रत्यक्ष मार परेको बताए।

‘ग्यासमा प्रतिसिलिण्डर १०५ रुपैयाँ ३८ पैसा वृद्धि हुँदा काठमाडौँ उपत्यकामा मात्रै एक महिनामा ११ करोड ५९ लाख १८ हजार रुपैयाँको अतिरिक्त भार उपभोक्तामाथि परेको छ,’ निगमको कदममाथि प्रश्न उठाउँदै उनले भने, ‘२५ लाख ९४ हजार ४ सय रुपैयाँको सहयोग गरेर जनताबाट साढे ११ करोडभन्दा बढी असुल्नु कस्तो नीति हो ? यसतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्छ।’

ग्यास अब हरेक वर्गका नागरिकको अनिवार्य र आधारभूत आवश्यकता बनिसकेको उल्लेख गर्दै उनले सामान्य चाउचाउ पकाउनेदेखि अन्य परिकार बनाउनेसम्मलाई यो अपरिहार्य रहेको बताए।

राज्य र सरोकारवाला निकायको ध्यान काठमाडौं उपत्यकामा मात्रै केन्द्रित भएको भन्दै उनले मोफसलका नागरिकको समस्यालाई नजरअन्दाज गर्न नहुने तर्कसमेत गरे। ‘हामी केवल काठमाडौँको ५० लाख जनसंख्याको मात्र कुरा गरिरहेका छौँ। उपत्यकाबाहिर बस्ने नागरिकहरू पनि मान्छे हुन्, उनीहरूलाई पनि उत्तिकै समस्या छ भन्ने कुरा बिर्सनु हुँदैन,’ उनले भने।

पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यास जस्ता अत्यावश्यक वस्तुको मूल्य बढ्दा समग्र बजारमा महँगी बढ्ने र यसले आम नागरिकको जीवनस्तर थप कष्टकर बनाउने भन्दै सांसद कार्कीले मूल्यवृद्धिको निर्णय तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेका छन्।