सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका कारण सर्वसाधारणको ज्यान जाने जोखिम बढेको भन्दै संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार विस्फोटक पदार्थको जोखिमले मानिसहरू बसोबास गर्ने स्थान मात्र नभई उनीहरूको आवतजावत, कामकाज र परिवारको जीविकोपार्जनमा समेत असर गरिरहेको छ ।

कार्यालयका अनुसार पछिल्लो एक सातामा सिरियाका छ वटा प्रान्तमा विस्फोटक पदार्थसँग सम्बन्धित १२ वटा घटना भएका छन् । ती घटनामा नौ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । मृत्यु हुनेमध्ये छ जना बालबालिका रहेका छन् ।

उत्तरी सिरियाको रक्का प्रान्तमा विस्फोटक पदार्थसम्बन्धी सबैभन्दा धेरै घटना भएका छन् । यसले युद्धका क्रममा छाडिएका विस्फोटक अवशेषको जोखिम अझै कायम रहेको देखाएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

सन् २०२४ डिसेम्बर ८ देखि हालसम्म सिरियाभर विस्फोटक पदार्थसँग सम्बन्धित १ हजार ४ सयभन्दा बढी घटना अभिलेख गरिएको छ । ती घटनामा करिब दुई हजार ५ सय सर्वसाधारण प्रभावित भएका छन् भने ८८० जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्रसंघका अनुसार दुई तिहाइभन्दा बढी घटना कृषि तथा पशु चराउने क्षेत्रमा भएका छन् । यसले किसान, पशुपालक तथा गाउँहरूबीच आवतजावत गर्ने मानिसलाई उच्च जोखिममा पारेको छ ।

जोखिम कम गर्न ठूलो स्तरमा बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थ हटाउने अभियान तत्काल आवश्यक रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । साथै, विस्फोटक पदार्थबाट हुने जोखिमबारे सर्वसाधारणलाई जानकारी दिने, प्रभावित व्यक्तिलाई आवश्यक सहायता उपलब्ध गराउने र जोखिमयुक्त क्षेत्र सफा गर्ने कामलाई प्राथमिकता दिनुपर्नेमा मानवीय क्षेत्रमा काम गर्ने संस्थाहरूले जोड दिएका छन् ।

यस्ता प्रयासबाट सर्वसाधारणलाई सुरक्षित रूपमा घर फर्किन र जोखिमबाट मुक्त भएर आफ्नो दैनिक जीवन पुनः सुरु गर्न सहयोग पुग्ने संयुक्त राष्ट्रसंघले जनाएको छ ।