अहिले हलमा आधा दर्जनभन्दा बढी नेपाली फिल्मबीच भिडन्त छ । कुनै फिल्म महिनादिनअघि प्रदर्शनमा आएको थियो भने कुनै सातादिनअघि । यी फिल्ममध्ये कुन अग्रपङ्क्तिमा छ ? कुन फिल्मलाई दर्शकले रुचाएका छन् ?

यी प्रश्नको एकमुष्ट जवाफ बक्स अफिस रिपोर्टमा छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टले भन्छ, ‘गौथली’को दबदबा उस्तै छ । अर्थात्, नौवटा नेपाली फिल्मको सूचीमा ‘गौथली’ले बाजी मारेको छ । यो फिल्मले आइतबार बेलुकीसम्म २६ करोड २ लाख ७० हजार ५ सय ९० रुपैयाँ कलेक्सन गरेको छ ।

यो फिल्म तीन महिनाअघि अर्थात् साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो । डा. कपिल रिजाल निर्देशित फिल्मले ‘नपत्याउने खोलाले बगाउँछ’ भनेझैँ चुपचाप बक्स अफिस कब्जा गरिरहेको छ ।

‘गौथली’लाई पछ्याउँदै छ, ‘पेन्सन पट्टा’ले । माओत्से गुरुङको यो फिल्मले ९ करोड ८८ लाख ९२ हजार १ सय ८८ रुपैयाँ कलेक्सन गरेको छ ।

यो दौडमा ‘बा : एक योद्धा’ तेस्रो स्थानमा छ । यसले ३ करोड ५ लाख २२ हजार ५ सय २ रुपैयाँ कलेक्सन गरेको छ ।

त्यसपछि पालो आउँछ ‘बेहुली’को । यो फिल्मको कुल आम्दानी २ करोड ९९ लाख ४० हजार ७ सय २४ रुपैयाँ छ ।

यस्तै, निखिल उप्रेतीको फिल्म ‘आचार्य’ले १ करोड ६२ लाख २७ हजार ९ सय ४६ रुपैयाँ कमाएको छ । त्यसलाई पछ्याउँदै छ, ‘झिँगे दाउ–२’ले । यो फिल्मले हालसम्म १ करोड ४६ लाख १२ हजार ९ सय १६ रुपैयाँ कमाएको छ ।

यस्तै, ‘तिनीहरू अर्थात् एलिफेन्ट्स इन द फग’ले १ करोड ३१ लाख ६० हजार ५ सय ४५ रुपैयाँ आर्जन गरेको छ ।

यो दौडमा ‘चमेलीको पोई’ र ‘चुंगुल’ सबैभन्दा पछाडि छन् ।

‘चमेलीको पोई’को कुल कमाइ ५ लाख ५ हजार २ सय १० रुपैयाँ छ भने ‘चुंगुल’ले १ लाख ३८ हजार ३ सय ८० रुपैयाँ कमाएको छ ।