अरबिक भाषा र साहित्य अध्ययन गरेका प्राध्यापक मोहम्मद रमजान अली मियाँ सन् २००७ मा नेपालीको रोजगारी गन्तव्य मुलुक कतार पुगे ।

अरबी साहित्य र इस्लाम दर्शनको अध्ययन गरेको हुनाले त्यही क्षेत्रमा काम गर्ने र थप बुझ्ने अभिलाषा बोकेर उनी कतार गएका थिए । कतार नै रोज्नुको कारणबारे मोहम्मद रमजान भन्छन्, ‘एउटा सेमिनारमा भाग लिन बहराइन पुगेको थिएँ । सुरुमा त घुम्ने सोचले मात्र आएको थिएँ । पछि कतारको अरबिक वातावरण, रहनसहन तथा कानुन बुझ्ने अभिलाशा जाग्यो’

रमजानले त्यहाँको एक पत्रिकामा अरबिक भाषामा नेपाली श्रमिकका समस्याहरू लेखमार्फत प्रस्तुत गरे । रोजगारीका लागि नेपालीले भोग्नु परेका समस्यासहित समाधानका उपाय केन्द्रित रहेर उनले आफ्नो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

अरबिक भाषामा लेखिएको लेख पढिसकेपछि सुरक्षा निकायले रोजगारीमा रहेका नेपालीप्रति चासो राख्यो । लेखमा उल्लेखित विषयमा आधारित रहेर सुरक्षा निकायबाट रमजानलाई बोलावट भयो । नेपालीहरूले भोगेका समस्याबारे उनलाई सोधियो, ‘तपाईंले लेखेअनुसार नै नेपालीहरूले समस्या भोगिरहेका छन् त?’

उनले जवाफ फर्काए, ‘नेपाली दूतावासमा काम गर्दा समस्या सुनाएका कामदारको आधारमा यो लेखेको हुँ ।’ अध्ययन गरेर समस्याको निराकरण गर्न उनले सुझाव दिए ।

दूतावासमा कार्यरत रहेका बखत मोहम्मद रमजान रोजागारीमा रहेका नेपाली युवाहरूको अनेकन समस्या सुन्थे । युवाहरू दूतावासमा आएर दिनहुँ पीडा सुनाउँथे ।

कतारस्थित नेपाली राजदूतावासमा रामकाजी खड्का कार्यवाहक प्रमुख रहेका बेला रमजान उनका निजी सचिव थिए । कतारको सरकारी निकायले उनलाई श्रमिकको समस्या समाधान गर्न कर्मचारीको रूपमा कार्य गर्न आग्रह गरे । उनले भने स्वयंसेवी भएर सघाउन सक्ने तर कर्मचारी भएर काम नगर्ने जवाफ कतारी सरकारी निकायलाई सुनाए । सन् २००७ को मध्यतिर दूतावासको कर्मचारी बनेका उनी त्यही वर्षको अन्त्यसम्म कार्यरत रहे ।

समस्यामा रहेका नेपालीको उद्धार, राहत, कानुनी सहायताका लागि नेपाली अगुवाहरू एकत्रित हुन सुरु गरे । नेपालीको तर्फबाट कतार राष्ट्रिय मानव अधिकार आयोगमा मोहम्मद रमजान संयोजक बने । उनी कतार मानव अधिकार आयोगको नेपाली हेल्प डेस्कको संयोजकसमेत बने ।

त्यहाँस्थित मानवअधिकार आयोगमा संलग्न भएपछि उनले नेपालस्थित राष्ट्रिय मानवअधिकार आयोगसँग सम्बन्ध बढाए । दुई देशका (नेपाल-कतार) मानवअधिकार आयोगबीचमा कार्यगत सम्झौता भयो ।

मोहम्मद रमजानले फरकफरक क्षेत्रबाट आफूलाई नेपाली समुदायमाझ स्थापित बनाएका छन् । वैदेशिक रोजगारीका लागि कतार रहेका श्रमिकको हकहित, उद्धार, अनुवाद लगायतमा निरन्तर सक्रिय रमजान कानुनी परामर्शदाता हुन् ।

कतारको श्रम ऐन श्रमिकहरूलाई बुझाउने उद्देश्यले उनले भाषा अनुवाद गरेका छन् । श्रमिक गाइड, कतारको श्रम ऐन, मानवअधिकारसम्बन्धी विषयवस्तुलाई रमजानले अनुवाद गरेर योगदान पुर्‍याएका छन् । नेपाली श्रमिकले आफ्नो हक-अधिकार बुझ्नका लागि सन् २००९ मा अरबी भाषाको कतारको श्रम ऐनलाई नेपालीमा अनुवाद गरेका थिए ।

‘नेपाली राजदूतावास कतार र राष्ट्रिय मानवअधिकार आयोग कतारको हेल्प डेस्कमा हुँदा सयौं घटना देखें/सुनें,’ मोहम्मद रमजान भन्छन्, ‘सामान्य व्यवस्था नबुझ्दा जेलको हावा खाने नेपालीदेखि कानुन उल्लंघन गरेर समस्यामा परेकोसम्म मैले देखेको छु ।’

रोजगारीका लागि कतार पुगेका श्रमिकले फरकफरक प्रकृतिका समस्याहरू भोग्छन् । पारिश्रमिक नपाएको, श्रमिकको शोषण, मानव अधिकारको हनन, लैङ्गिक हिंसा लगायतका पीडितहरूले समस्या लिएर आउने मोहम्मद रमजान बताउँछन् । समस्या समाधानका लागि सरोकारवाला पक्षसँग समन्वय गरेर पीडितलाई न्याय र अधिकार दिलाउन पहलका कार्यहरू निरन्तर गरिरहेको उनले सुनाए ।

नेपाली कामदारहरूको न्यूनतम पारिश्रमिकमा गरिरहनु परेको विवशता उनी सुनाउँछन् । ‘सिप भएका श्रमिकका लागि पारिश्रमिकमा विभेद छैन । न्यूनतम पारिश्रमिक लागु नहुनुमा कामदारको सिप र क्षमता नभएर पनि हो,’ मोहम्मद रमजान भन्छन् ।

नेपाली समुदायलाई कतारका विभिन्न स्थानीय संघसंस्थासँग जोड्ने कार्यमा पनि रमजानले अगुवाइ गरेका छन् । कतार च्यारिटी, कतार फाउन्डेसन, रोटा, रेड कृसियन्ट, ओलम्पिक कमिटी, कतार रेडियोलगायत विभिन्न निकायसँग नेपाली समुदायलाई जोड्न भूमिका खेलेको उनी बताउँछन् । कतार च्यारिटी र रेड कृसियन्टको कार्यालय नेपालमा स्थापना भइसकेको छ । यी दुवै संस्था मानवीय सेवाका कार्य गर्ने गैरसरकारी संस्था हुन् ।

प्रवासी मजदुरका पक्षमा पैरवी गर्दै आएका मोहम्मद रमजान नेपाललाई कतारमा चिनाउने कार्यमा समेत संलग्न हुँदै आएका छन् । कतारको राष्ट्रिय दिवसहरूमा नेपालको तर्फबाट संयोजकको भूमिका रहेर कार्य गर्दै आएको उनले सुनाए ।

‘नेपाली पहिचान, भेषभुषा र नेपाली कला-संस्कृतिलाई अग्रस्थानमा राखी नेपालको पहिचान बढाउने क्रियाकलाप गर्दै आएको छु,’ उनले भने । उनका अनुसार रमजानले कतारको लगानी नेपाल भित्र्याउन कतारी पक्षलाई नेपाल भ्रमण र अध्ययन गर्न सुझाव दिँदै आएका छन् ।

कतारको कला-संस्कृति मन्त्रालयसँग कतार-नेपालबीच सम्झौता, व्यापारसम्बन्धी एमओयू लगायतमा दुवै पक्षलाई उनले परामर्श पनि दिने गरेका छन् । नेपालले कतारबाट कृषि, पर्यटन, पूर्वाधार विकास, उर्जा, जलस्रोत लगायतमा कूटनीतिक च्यानलमार्फत सहकार्य र सहयोगको मार्ग खोज्नुपर्ने उनको धारणा छ ।

‘नेपालमा उत्पादन हुने वस्तु कतारको बजारमा पुर्‍याउन कतारसँग ठोस कार्ययोजना राख्न सक्नुपर्छ,’ मोहम्मद रमजान भन्छन्, ‘आयात-निर्यात सहज र परिणाम नपुग्दा नेपालले बर्सेनी ठूलो व्यापार घाटा भोगिरहेको छ ।’

२०७२ सालमा गएको भूकम्पमा राहतका लागि कतार टेलिभिजनमार्फत मोहम्मद रमजानले करिब ३ करोड कतारी रियाल सहयोग संकलन गरेका थिए । कतार टेलिभिजनमा ‘वि स्ट्यान्ड विथ नेपाल’ शीर्षक ब्यानर राखेर सहयोगको आह्वान भएको थियो ।

उनकै पहलमा कतारी व्यवसायी नासर अल अलीलगायत अन्य व्यवसायी तथा भूकम्प तथा कोरोनाले निम्त्याएको परिस्थितिमा नेपाली व्यवसायीहरूसँग सहकार्य सम्भव भएको थियो । उक्त सहकार्य जीवनकै अविस्मरणीय कार्यका रूपमा मोहम्मद रमजान सम्झन्छन् ।

पुर्ख्यौली थलो गोरखा रहेका मोहम्मद रमजानको जन्म काठमाडौंमा भएको हो । कागेश्वरी नगरपालिकामा जन्मेर ललितपुरको महालक्ष्मी नगरपालिकाका स्थायी बासिन्दा बन्न पुगेका रमजानले ४८ वर्ष पार गरेका छन् ।

उनले पाकिस्तानबाट उच्च शिक्षा हासिल गरेका हुन् । सन् २००३ मा उनले कराँचीस्थित स्लामिक स्टडिज कराँची युनिभर्सिटीबाट अरबिक साहित्यमा एमए गरेका छन् ।

कानुन बुझाउन श्रमिकलाई पुस्तक

अरबी भाषा र साहित्यमा स्नातकोत्तर गरेका मोहम्मद रमजानले अरबी, नेपाली र अंग्रेजी भाषामा पुस्तकहरू लेखेका छन् ।

नेपाली, उर्दु, अंग्रेजी लगायतका भाषामा पुस्तकहरु लेख्नुको साथै अनुवादसमेत गरेका उनका ४० बढी पुस्तक प्रकाशित छन् ।

नेपाली श्रमिकलाई कानुन बुझाउन सहज गराउने उद्देश्यले कतारी श्रम ऐनलाई नेपालीमा अनुवाद गरेर सहयोग पुर्‍याएका छन् । कतारको श्रम ऐन २००९ लाई उनले नेपालीमा अनुवाद गरे । प्रवासी श्रमिकलाई सहयोग पुग्ने गरी उनले लेखेका अन्य पुस्तकहरूमा मैले देखेको कतार, कतारको ट्राफिक कानुनी व्यवस्था, समयको सदुपयोग, आधुनिक अरबी भाषा प्रशिक्षक, श्रमिक अधिकार पुस्तिका, कतारको श्रम ऐन २०१६, उर्दु नेपाली शब्दकोषलगायत छन् ।

साथै, रमजानले कतार राज्यको आप्रवासी कामदारको निर्देशिका, कतारका घरेलु कामदारको कानुनी अधिकार, अरबी भाषा ज्ञान, निर्माण क्षेत्रका अस्थायी कामदारको आवासगृहको मानव अधिकार मापदण्ड, हिरासत र दण्ड तथा सुधारगृहमा मानव अधिकारसम्बन्धी निर्देशिका, कतारको आवासीय तथा अध्यागमन कानुन २००५, कतारको आवासीय तथा अध्यागमन कानुन २०१५ लगायत पाठ्यसामग्री नेपाली भाषामा प्रकाशित गरेका छन् ।

१९ वर्षदेखि निरन्तर श्रमिकको हकका लागि विभिन्न माध्यमले आवाज उठाइरहेका मोहम्मद रमजान दर्जनौं पुरस्कारबाट सम्मानित भएका छन् । भाषा अनुवाद, मानव अधिकार, समाजसेवा, साहित्य लगायतका क्षेत्रमा गरेको योगदानका कारण उनलाई सम्मान र पुरस्कृत गरिएको छ ।

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।