काठमाडौँ । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको महाधिवेशन आयोजक समितिको बैठकमा महाधिवेशन केन्द्रित ४ समिति गठन गर्ने प्रस्ताव पेस भएको छ ।

महाधिवेशन तयारीका लागि भदौ १८ गतेभित्र केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गरी चार वटा महत्त्वपूर्ण समितिहरू गठन गर्ने प्रस्ताव गरिएको हो । यस्तै, महिला सङ्घ, नेविसंघ, तरुण दल लगायतका भ्रातृ संस्थाहरूको तदर्थ समिति समेत गठन गरिने कार्यपत्रमा उल्लेख छ।

महाधिवेशनको तयारीका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधिहरू तोकिने, प्रस्ताव पनि बैठकमा पेस भएको छ । भदौ २० गतेभित्र प्रतिनिधिहरू जिल्ला पुगिसक्नुपर्ने र भदौ २५ गतेभित्र जिल्ला अधिवेशन तयारी समिति गठन गरिसक्नुपर्ने कार्यतालिका छ। क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्ग्याउन असोज ९ गतेको समय सीमा तोकिएको छ।