काठमाडौँ । रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपछिको खोज, उद्धार, राहत तथा पुनःस्थापनाको अवस्थाबारे नागरिकलाई नियमित सुसूचित गराउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक भिडियो बुलेटिनमार्फत जानकारी दिने नयाँ अभियान थालेको छ ।

विपद् प्रतिकार्यमा सरकारका तीनै तह र सुरक्षा निकायहरूले गरिरहेका प्रयास, यथार्थ तथ्याङ्क तथा कार्यप्रगतिबारे आधिकारिक सूचना प्रवाह गर्ने उद्देश्यले शुक्रबार साँझ पहिलो बुलेटिन सार्वजनिक गरिएको हो ।

बुलेटिनमा बाढी आएको १० दिनपछि त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई प्राविधिक कर्मचारीको जीवितै उद्धार गरिएको घटनालाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ । नेपाली सेनासहितको संयुक्त सुरक्षा टोलीले सप्तरी तिलाठीका सञ्जय साह र काठमाडौँका कबिर महर्जनको सकुशल उद्धार गरेपछि सुरुङभित्र फसेका अन्य नागरिकहरू पनि जीवितै भेटिन सक्ने आशा पलाएको जनाइएको छ ।

विपद्को समयमा जनचासो र संवेदनशीलतालाई ध्यानमा राखी सत्य, तथ्यपरक र पारदर्शी सूचना नागरिकसम्म पुर्‍याउन तथा भ्रम निवारण गर्नका लागि अबदेखि दैनिक रूपमा यस प्रकारको ‘अपडेट बुलेटिन निरन्तर प्रसारण गरिने रास्वपाले स्पष्ट पारेको छ ।