काठमाडौँ । आगामी २०औँ एसियाली खेलकुदमा सबैभन्दा आशा गरिएको नेपाली करातेकी एरिका गुरुङले आफ्नो मेहनतअनुसार नतिजा आउने भन्दै आफ्ना सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छन् । आगामी २०औँ एसियाली खेलकुदका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भएको बिदाइ कार्यक्रममा एरिकाले आफ्नो उत्कृष्ट दिन र त्यहीअनुरूप नतिजा आउने आशा व्यक्त गरेकी हुन् ।

उनले एसियन गेम्सको प्रतिस्पर्धालाई जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षणका रूपमा लिन पनि उल्लेख गरेकी छन् । आफ्नो भविष्यबारे नसोची देश र लक्ष्यमा ध्यान दिएर खेल्ने एरिकाको विश्वास छ । एसियन गेम्सको प्रतिस्पर्धालाई उत्साह र उमङ्गका रूपमा खेलाडीले लिएको उनले बताइन् ।

गत १९ औँ एसियन गेम्सकी रजत पदक विजेता एरिकाले आगामी एसियन गेम्समा सहभागी हुने क्रममा राज्यका अङ्गहरू उपस्थिति हुनुले थप उत्साह मिलेको बताएकी छन् ।

आगामी २०औँ एसियाली खेलकुद जापानको नागोया/आइची सहरमा आगामी सेप्टेम्बर १७ देखि अक्टोबर ४ तारिखसम्म आयोजना हुँदैछ । नेपालको करातेबाट उक्त एसियन गेम्समा सबैभन्दा धेरै पदकको आशा गरिएको छ । जापानमा नै करिब दुई हप्ता तयारी गर्ने उद्देश्यसहित नेपाली कराते टोली शुक्रवार त्यसतर्फ प्रस्थान गरेको छ ।

यसपटकको एसियन गेम्सका लागि आयोजक जापान जाने कराते नेपालको २२ खेलमध्ये पहिलो हो । नेपाली कराते टोलीलाई शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित मेहता र नेपाल कराते महासङ्घका पदाधिकारीले बिदाइ गरेका थिए ।

सो अवसरमा खेलकुदमन्त्री सस्मित पोखरेलले देशलाई गर्व बनाएर एसियन गेम्समा प्रतिस्पर्धा गर्न जाने खेलाडीप्रति गर्वको महसुस भएको बताए । राज्यले खेलाडीबाट धेरै ठुला आशा नगरेको र तर खेलाडीले आफ्नो उत्कृष्ट दिनेमा आफू विश्वस्त रहेको मन्त्री पोखरेलले बताएका छन् । नतिजाका बारेमा धेरै नसोची आफ्नो उत्कृष्ट दिने तरिकाले खेल्ने मन्त्री पोखरेलले आशा गरेका छन् ।

जित्दा र हार सामना गर्दा राज्यले समान तरिकाले हेर्ने उनको धारणा छ । खेलाडीले यो यात्रामा पनि कति धेरै मेहनत गरेको राज्य जानकार रहेको मन्त्री पोखरेलको भनाइ छ । खेलाडीहरूको आशा र माग सिमित भए पनि राज्यले त्यसलाई पूरा गर्न नसकेको उनले बताएका छन् । खेलाडीले पनि राज्यबाट पाउने सेवा सुविधा भीआइपी सरह पाउने मन्त्री पोखरेलले स्पष्ट पारेका छन् ।

नेपाली टोलीका कुमुते प्रशिक्षक कुशल श्रेष्ठले यसपल्ट फरक वातावरणका बिच एसियन गेम्समा प्रतिस्पर्धा गर्न लागेको भन्दै यसले सम्मानित महसुस भएको बताए । जापानको हावापानी र खानपानमा खेलाडी घुलमिल होस् भन्ने तरिकाले केही समय अगाडि जान लागेको बताए ।

मिसन २०२६ को नामबाट लामो समयदेखि प्रशिक्षण गर्दै आएकाले यसपल्ट तयारी कम भयो भन्ने कसैले पनि छुट नहुने उनको भनाइ छ । यही नतिजा आउँछ भन्न नसकिने तर पहिलेको भन्दा राम्रो नतिजा ल्याउन मेहनत गर्ने प्रशिक्षक कुशलको भनाइ छ ।

नेपाली करातेको काताका प्रशिक्षक मन्डेकाजी श्रेष्ठले मिसन २०२६ बाट लामो समयदेखि तयारी गरिरहेको र त्यो प्रशिक्षण सबै खेलाडीलाई मद्दत मिल्ने बताए । साथै बन्द प्रशिक्षणले पनि खेलाडीलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।

पहिलोपल्ट देशको झन्डासहित अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने खेलाडीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा भिआइपी कक्षको सुविधा दिनुले सबैको मनोबल बढेको प्रशिक्षक मण्डेकाजीले बताएका छन् । जापानमा पनि राम्रो प्रशिक्षण स्थलमा तयारी गर्ने र त्यहाँ १०/१२ दिनको प्रशिक्षणपछि नागायो जाने काताका प्रशिक्षक मण्डेकाजीले उल्लेख गरेका छन् । तयारीको हिसाबले उत्कृष्ट प्रदर्शन गर्ने र पदक जित्ने उनको आशा छ ।

एसियन गेम्सका लागि करातेका ८ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । कातातर्फ नेपालले दुई वटा विधामा प्रतिस्पर्धा गर्दैछ । महिला टिम काता र एकल कातातर्फ नेपालको चुनौती रहनेछ । व्यक्तिगत काता सानुमाया थिङ र टिम कातामा उनीसँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले चुनौती दिँदैछिन् । कातमा मन्डेकाजी श्रेष्ठ र कुमुतेतर्फ कुशल श्रेष्ठ प्रशिक्षक छन् । कुमुतेमा एरिकासँगै राकेश मानन्धर, मीनबहादुर तामाङ,तेन्जिन शेर्पा र निरुपा दोङ छन् ।