काठमाडौँ ।नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो बाढी–पहिरोको विपद् व्यवस्थापनमा सरकारले सुरक्षा निकाय परिचालन गरे पनि आम जनपरिचालन गर्न पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले विपद्को सामना गर्न तीनै तहका सरकार र जनता एकसाथ जुट्नुपर्नेमा सरकार चुकेको बताएका हुन्।
संसद्मा बोल्दै प्रचण्डले भने, ‘विपद्को सुरुवाती दिनमा प्रधानमन्त्री र गृहमन्त्री सक्रिय देखिएपछि केही राम्रो होला कि भन्ने आशा थियो। तर महाविपत्ति सामना गर्न सबै तहको सरकार र आम जनतालाई परिचालन गर्नुपर्थ्यो। सेना त परिचालन भयो तर जनपरिचालन हुन सकेन।’
उनले सेनासँगै जनताको परिचालन नभएसम्म विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने स्पष्ट पारे। विगत ७ दिनमा सरकार उद्धार, राहत र जनपरिचालनमा असफल भएको दाबी गर्दै उनले टनेल लगायतका जोखिमपूर्ण स्थानमा समयमै उद्धार कार्य हुन नसकेको र सरकारमा केही ‘घमण्ड’ देखिएको आरोप लगाए।
सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तन (ग्लोबल वार्मिङ) का कारण नेपालले भोगिरहेको प्राकृतिक सङ्कटको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिए। विश्व तापमान वृद्धिका कारण हिउँ पग्लिने र चट्टान तथा हिउँको सम्बन्ध कमजोर भएर पहिरो जाने क्रम बढेको उनको भनाइ थियो।
‘यो समस्या नेपालको मात्र होइन, विश्व समुदायले यसलाई गम्भीर रूपमा नहेरे सिङ्गो मानव समुदाय सङ्कटमा पर्छ,’ उनले भने।
आफूले संयुक्त राष्ट्रसंघीय महासभा र कोप सम्मेलनहरूम 'क्लाइमेट जस्टिस'(जलवायु न्याय) को मुद्दा गम्भीरतापूर्वक उठाएको स्मरण गर्दै उनले भने, ‘हामीलाई कसैको दया(माया चाहिएको छैन। कार्बन उत्सर्जनका कारण भएको क्षतिको क्षतिपूर्ति नेपालले पाउनुपर्छ।’
आफ्नै आग्रहमा संयुक्त राष्ट्र सङ्घका महासचिवले नेपाल भ्रमण गरी सगरमाथा र लुम्बिनीबाट विश्व समुदायको ध्यानाकर्षण गराएको स्मरण गर्दै प्रचण्डले यो सङ्कट नेपाल एक्लैले समाधान गर्न नसक्ने बताए।
उनले आगामी दिनमा आउन सक्ने यस्ता वातावरणीय तथा प्राकृतिक विपद्प्रति सरकारलाई थप गम्भीर र जिम्मेवार बन्न आग्रह गरे।




