धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बजेटविहीनताको अवस्था अन्त्य गर्दै फास्ट ट्र्याकबाट नयाँ बजेट ल्याउने बताएका छन्। आज बिहान नेपाल पत्रकार महासंघ डडेलधुराले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले विगतका बेथिति अन्त्य गर्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी बजेट पुनर्लेखन गरिने बताए।

मुख्यमन्त्री भट्टले जनताको वास्तविक आवश्यकता र प्राथमिकतालाई केन्द्रमा राखेर जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई बजेटमा समेटिने बताए। दुर्गम तथा सीमान्तकृत समुदायका आवश्यकता र योजनालाई प्राथमिकतामा राखिने उनको भनाइ छ।

‘जनताले परिवर्तनको अनुभूति गर्ने गरी बजेट आउँछ,’ उनले भने, ‘राम्रा सुरुवातलाई आत्मसात् गर्दै विगतमा देखिएका बेथितिको अन्त्य गरेर बजेटलाई आम नागरिकको अपनत्व हुने गरी निर्माण गर्छौं।’उनले भने।

शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटनलगायत प्रदेशका महत्त्वपूर्ण क्षेत्रलाई समेटेर देखिने र महसुस गर्न सकिने परिवर्तन ल्याउने गरी बजेटको व्यवस्था गरिने उनेले बताए। विगतका कमजोरी सच्याउँदै आवश्यकताका आधारमा बजेटमा प्राथमिकता निर्धारण गरिने उनले जानकारी दिए।

मुख्यमन्त्री भट्टले प्रदेशको आवश्यकता र जनताको अपेक्षालाई केन्द्रमा राखेर बजेट पुनर्लेखन गरिने पनि जानकारी दिए।

बजेट निर्माण प्रक्रियामा जनताका प्रत्यक्ष सरोकारका विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ।

यसैगरी, दैजी–जोगबुढा सडक प्रदेश सरकारको प्राथमिकतामा रहेको मुख्यमन्त्री भट्टले बताए। प्रदेशका महत्त्वपूर्ण तथा रणनीतिक योजनालाई प्राथमिकताका साथ अघि बढाउने उनको भनाइ छ।

प्रदेश राजधानी निर्माणको कामसमेत यसै वर्षदेखि सुरु गर्ने उनले बताए। राजधानी निर्माणलाई भौतिक संरचना निर्माणमा मात्र सीमित नगरी सुदूरपश्चिमको मौलिकता र पहिचान स्थापित गर्ने अभियानका रूपमा अघि बढाउने मुख्यमन्त्री भट्टले बताए।