३ कात्तिक, चितवन । पूर्वी नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर र चितवनको देवघाटलाई जोड्ने केबुलकार निर्माण प्रक्रिया अघि बढेको छ । आईएमई ग्रुपले दुई वर्षभित्र केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

भरतपुर महानगरपालिका–१ देवघाटबाट गैँडाकोट नगरपालिका–१ मा रहेको मौलाकालिका मन्दिर जोड्ने केबलकार परियोजनाको अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) भइरहेको छ ।

आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले देवघाट र मौलाकालिका दुवै प्रसिद्ध धार्मिक क्षेत्र भएकाले त्यहाँ आउने पर्यटकलाई एकअर्को गन्तव्यमा पुग्न सहज बनाउन केबुलकार निर्माण गर्न लागिएको बताए ।

‘यी दुवै प्रसिद्ध धार्मिक क्षेत्र हुन् । देवघाट र मौलाकालिका माईको आ–आफ्नै महत्त्व छ । धार्मिक पर्यटकलाई एउटा गन्तव्यमा जाँदा अर्को गन्तव्यमा पनि पुग्न सजिलो होस् भनेर जोड्न खोजिएको हो,’ ढकालले भने, ‘केबुलकारले धार्मिक क्षेत्रमा पर्यटक पनि बढाउन मद्दत गर्छ भन्ने लाग्छ ।’

उनका अनुसार देवघाटबाट मौलाकालिका जोड्ने केबुलकार करिब दुई किलोमिटर लामो हुनेछ । देवघाट र मौलाकालिका मन्दिरभन्दा केही तल दुई वटा छुट्टाछुट्टै स्टेसन निर्माण गरिने छ । परियोजनाको लागत भने यकिन भइसकेको छैन ।

आईएमई ग्रुपले अहिले गैँडाकोटको बटम स्टेसनदेखि मौलाकालिका मन्दिरनजिकै रहेको इला होटलसम्म केबलकार सञ्चालन गरिरहेको छ । उक्त केबलकार १.२ किलोमिटर लामो छ ।

कम्पनीका अनुसार हाल वार्षिक २ लाख धार्मिक पर्यटक केबुलकार चढेर मौलाकालिका मन्दिर पुग्ने गरेका छन् । केबुलकार सञ्चालनमा आएपछि मन्दिरमा भक्तजनको संख्या ४० प्रतिशतले बढेको अध्यक्ष ढकालले बताए।