दसैंमा अधिकांशको घरमा छाकै पिच्छे मिठो मसिनो खानेकुरा पाक्छन् । यस्तोमा घरका आधा धेरैजसो मानिसलाई यो समयको पर्खाइ हुन्छ भने केहीलाई चाहिँ खानपान नबार्दा समस्या झनै बल्झिने होकि भन्ने पिरले सताउँछ ।

अरू बेला खानपानमा ध्यान दिनेहरू पनि दसैंमा ‍चाहि होस् खाइदिउँ भन्ने सोचमा पुग्छन्। विशेषगरी, बाथको समस्या भएकाहरूलाई दसैंको मासुको देख्दा जिब्रो रसाए पनि मनमा प्रश्न उब्जिन सक्छ: खाने कि नखाने ? खाए कति खाने ? कतै स्वाद लिने चक्करमा रोग नै बल्झिने त होइन ?

यसको जवाफ सबैका लागि एउटै छैन । किनकि, बाथ एउटै प्रकारको हुँदैन र सबै प्रकारका बाथमा खानपानसम्बन्धी बन्देज पनि समान हुँदैनन् । त्यसैले, दसैंमा के खाने र के नखाने भन्ने कुरा बाथको प्रकार बुझेर तय गर्नु आवश्यक हुन्छ ।

पहिला, बाथ के हो त्यो बुझौं

बाथ भन्नेबित्तिकै धेरैले जोर्नी दुख्ने वा युरिक एसिड बढ्ने समस्यालाई सम्झिन्छन् । तर, बाथ एउटै रोग होइन, यो विभिन्न प्रकारका रोगलाई बुझाउने शब्द हो । तीमध्ये केही बाथ जोर्नीमा युरिक एसिडका क्रिस्टल जम्दा हुन्छन् भने केही अटोइम्युन रोग हुन् ।

अटोइम्युन बाथमा शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै शरीरका स्वस्थ कोष, तन्तु वा जोर्नीलाई बाहिरी तत्त्व ठानेर आक्रमण गर्न थाल्छ । यसले जोर्नीमा दुखाइ, सुन्निने र कडापन ल्याउन सक्छ । कतिपय अवस्थामा भने जोर्नीबाहेक शरीरका अन्य अंगमा समेत असर पर्न सक्छ ।

बाथका प्रकारअनुसार लक्षण फरक हुन सक्छन् । सामान्यतया बिहान उठ्दा जोर्नी कडा हुने, चलाउन गाह्रो हुने र केहीबेर चल्दै जाँदा सहज महसुस हुने यसको एउटा लक्षण हो । जोर्नी दुख्ने वा सुन्निने, अत्यधिक थकान महसुस हुने र कपाल झर्ने समस्या पनि देखिन सक्छ ।

केही अटोइम्युन रोगमा मुख सुक्ने, बारम्बार मुखमा घाउ आउने, छालामा विभिन्न प्रकारका डाबर देखिने वा अनुहारमा पुतलीको आकारको रातो दाग देखिने लक्षण हुन सक्छन् । त्यस्तै, सास फेर्न गाह्रो हुने, मुटुको धड्कन बढेजस्तो हुने, निरन्तर खोकी लाग्ने तथा पेट दुख्ने, कब्जियत वा पखाला लाग्ने समस्या पनि देखिन सक्छन् ।

बाथ छ भन्दैमा मासु खानै नहुने हो ?

बाथ हुनेबित्तिकै मासु खान छाड्नुपर्छ भन्ने छैन । बाथका प्रकार अनुसार मात्र ध्यान दिनुपर्छ । युरिक एसिड बढेर हुने गाउट अर्थात् युरिक एसिड बाथ र अटोइम्युन बाथ एउटै होइनन् ।

त्यसैले, सबै प्रकारका बाथ भएका व्यक्तिलाई एउटै खानपानको नियम लागू हुँदैन ।

अटोइम्युन बाथमा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै तन्तुमा आक्रमण गर्न थाल्छ । यस्तो अवस्थामा रोगको प्रकार, अवस्था र उपचारअनुसार खानपानमा ध्यान दिनुपर्छ । युरिक एसिड बाथमा भने प्युरिन बढी भएका खानेकुरा र मदिराको सेवनले समस्या बढाउन सक्छ ।

रातो मासु खाँदा कति ध्यान दिने ?

दसैंमा प्राय: खसीको मासु खाने चलन छ । तर, युरिक एसिड बाथ भएका व्यक्तिले रातो मासु धेरै मात्रामा खानु उचित हुँदैन । मासु खाँदै नखानेभन्दा पनि मात्रा नियन्त्रण गर्ने र आफ्नो चिकित्सकको सल्लाहअनुसार खानपान मिलाउने गर्नु राम्रो हुन्छ ।

मासुका साथै कलेजो, मिर्गौलाजस्ता भित्री अंगको मासुमा प्युरिन बढी हुने भएकाले युरिक एसिड बाथ भएका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ । एकैपटक धेरै मासु खाने, बारम्बार मासुका परिकार थप्ने र खानपानमा सन्तुलन नमिलाउने बानीले समस्या बढाउन सक्छ ।

तारेका र गुलिया खानेकुरा कति खाने ?

दसैंमा मासुसँगै चिल्लो, तारेका परिकार, मिठाई र गुलिया पेय पदार्थको सेवन पनि बढ्छ । यस्ता खानेकुरा धेरै खाँदा तौल बढ्न सक्छ । मोटोपनले बाथको व्यवस्थापनलाई थप कठिन बनाउन सक्छ ।

त्यसैले, दसैंमा पनि नियमित खानपानको तालिका सकेसम्म कायम राख्ने, तारेका र अत्यधिक गुलिया खानेकुरा कम गर्ने तथा सागसब्जी र फलफूललाई खानामा समावेश गर्ने गर्नुपर्छ ।

युरिक एसिड बाथ भएका व्यक्तिका लागि मदिरा सेवन विशेष चिन्ताको विषय हो । बियरसहितका मदिराले युरिक एसिड बढाउँछन् र गाउटको आक्रमणको जोखिम बढाउन सक्छन् । त्यसैले, मदिरा नखानु नै सुरक्षित विकल्प हो ।

दसैंको रमाइलोमा साथीभाइसँग बसेर मदिरा पिउने चलन भए पनि बाथको समस्या भएका व्यक्तिले यसलाई सामान्य ठान्नु हुँदैन । विशेषगरी गाउटको समस्या बारम्बार बल्झिने व्यक्तिले मदिराबाट टाढा रहनुपर्छ ।

पानी पिउने र व्यायाम गर्ने बानी नछाडौँ

दसैंको बिदामा खानपानसँगै दैनिक हिँडडुल र व्यायाम पनि छुट्न सक्छ । तर, बाथको समस्या भएका व्यक्तिले आफ्नो स्वास्थ्य अवस्थाअनुसार शारीरिक गतिविधिलाई निरन्तरता दिनुपर्छ ।

पर्याप्त पानी पिउनु पनि महत्त्वपूर्ण हुन्छ । युरिक एसिड बाथ भएका व्यक्तिले शरीरमा पानीको कमी हुन दिनु हुँदैन । तर, सबैले अनिवार्य रूपमा एउटै मात्रामा पानी पिउनुपर्छ भन्ने छैन । मिर्गौला वा मुटुको समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहअनुसार पानीको मात्रा मिलाउनुपर्छ ।

बाथको औषधि नियमित सेवन गरिरहेका व्यक्तिले दसैंमा खानपान बदलिएको भन्दै औषधि आफैँ बन्द गर्नु हुँदैन । रोग नियन्त्रणमा राख्न नियमित उपचार, सन्तुलित खानपान र आवश्यक फलोअप उत्तिकै महत्त्वपूर्ण छन् ।

दसैंमा खानै नहुने भनेर अनावश्यक डर मान्नुभन्दा आफ्नो बाथ कुन प्रकारको हो भन्ने बुझ्नु र सोहीअनुसार खानपान मिलाउनु महत्त्वपूर्ण हुन्छ ।