तेहरान । इरानले विवाह समारोह भइरहेको एक घरमा अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ । इरानको दक्षिणी क्षेत्रमा भइरहेको विवाह समारोहमा अमेरिकाले आक्रमण गरेको हो ।
इरानी अधिकारीहरूका अनुसार सिरिक काउन्टीको कुहेस्ताक सहरमा भएको उक्त आक्रमणमा बालकसहित कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ६३ जना घाइते भएका छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार बिहान भएको घटनालाई क्रूर आक्रमण भनेका छन् ।
विवाह समारोह भइरहेका बेला कुहेस्ताकस्थित एक आवासीय घरमा आक्रमण भएको उनको भनाइ छ । इरानको सरकारी सञ्चारमाध्यम प्रेस टीभीले पनि घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको जनाएको छ ।
यस घटनामा अरू ६३ जना घाइते भएको सिरिक काउन्टीका गभर्नर रेजा शहिदियानले सरकारी टेलिभिजन आईआरआईबीलाई भने । घाइतेमध्ये ५० जना महिला तथा बालबालिका रहेको बताइएको छ । घाइते सबैलाई नजिकैको मिनाब सहरस्थित अस्पतालमा लगिएको र उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ ।
इरानी रेड क्रिसेन्टले सार्वजनिक गरेको भिडियोमा आक्रमणपछि एउटा भवनका भित्ता र झ्यालहरू क्षतिग्रस्त भएको तथा वरिपरि भग्नावशेष छरिएको देखिएको । रेड क्रिसेन्टले अस्पतालमा उपचार गराइरहेका बालबालिकाका तस्बिरसमेत सार्वजनिक गरेको छ ।
आक्रमणबाट बचेका एक बालकले इरानी सञ्चारमाध्यमसँग कुरा गर्दै घटनाअघि आफूले लडाकु विमानको आवाज सुनेको बताए । उनका अनुसार समारोह स्थलमा पुगेपछि ठुलो विस्फोट भएको थियाे । विस्फोटका कारण इँटा, ढुङ्गा र सिमेन्टका टुक्राले आफू र अन्य मानिसलाई चोट लागेको उनले बताएका छन् ।
यो घटना अमेरिकाले इरानमाथि नयाँ चरणको सैन्य आक्रमण सुरु गरेको घोषणा गरेकै समयमा भएको हो । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का सैन्य संरचनालाई लक्षित गर्दै आक्रमण गरिरहेको हो ।
अमेरिकी सेनाका अनुसार हवाई प्रतिरक्षा प्रणाली, राडार, समुद्री सैन्य संरचना, बारुदी सुरुङ बिछ्याउने क्षमता तथा सञ्चारसम्बन्धी संरचनालाई निशाना बनाइएको छ । पछिल्लो आक्रमणलाई अमेरिकी पक्षले स्ट्रेट अफ होर्मुजमा व्यावसायिक पानीजहाज तथा अमेरिकी सैनिकमाथि इरानले गरेको भनिएको आक्रमणको प्रतिक्रिया भनेको छ ।
कुहेस्ताकमा भएको आक्रमणमा विवाह समारोह नै अमेरिकी सेनाको लक्षित क्षेत्र थियो वा आवासीय घरमा आक्रमण संयोगवश परेको हो भन्ने विषय तत्काल स्पष्ट भएको छैन । अमेरिकी पक्षबाट यस घटनामा लक्षित घरबारे विस्तृत स्पष्टीकरण सार्वजनिक भएको छैन ।




