३१ असोज, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन ९ दिन बाँकी छ । एनपीएलका लागि त्रिवि क्रिकेट मैदानमा पिच, ड्रेसिङ रुम, खेलाडी डग–आउट, आउटफिल्डसहितका संरचनाको स्तरोन्नति भइरहेको छ ।

यू–१९ महिला विश्वकपका लागि पनि यो मैदान स्तरोन्नति गरिएको छ । क्यानकाअनुसार मैदानमा दर्शकको क्षमता पनि केही मात्रामा बढ्नेछ ।

एनपीएल कात्तिक ९ देखि मंसिर ५ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुँदैछ । यसपटक अन्तर्राष्ट्रिय परिषद् (आईसीसी)को स्वीकृति पाएको छ । योसँगै फ्रेन्चाइज टोलीले टेस्ट प्लेइङ नेसनका ठूला खेलाडी ल्याउन सक्नेछन् ।

सबै फ्रेन्चाइज टोलीले कम्तीमा दुई स्टार ल्याउने प्रयासमा रहेको नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारख खड्काले जानकारी दिए । उनले एनपीएलका लागि आईसीसीको प्यानल कमेन्टेटर ल्याउने तयारी भइरहेकोसमेत उल्लेख गरे ।

डिसिजन रिभ्यु सिस्टम (डीआरएस) राख्नेबारे अझै टुङ्गो लागिनसकेको, तथापि नजिक रहेको खड्काले बताए । यसपटक पूर्वाधारका हिसाबले पनि केही नयाँ गर्ने उद्देश्य रहेको उनको भनाइ छ ।

भिडियो/फोटो: कमल प्रसाईं