२० भदौ, वाशिङ्टन (रासस/एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी युक्रेन युद्ध अन्त्य गर्ने प्रयासस्वरूप आफ्ना विशेष दूत स्टिभ विट्कफ र जेरेड कुशनरलाई मस्को र किएभ पठाउने घोषणा गरेका छन्।
ट्रम्पका अनुसार दुवै वार्ताकारले शान्ति सम्झौताको सम्भावना खोज्नेछन् र युद्ध अन्त्य गर्ने प्रस्तावसमेत लिएर जानेछन् । उनीहरूले शनिबार मस्कोमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र आइतबार किएभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने बताइएको छ ।
युक्रेनका एक वरिष्ठ अधिकारीका अनुसार विट्कफ र कुशनर आइतबार किएभ पुग्ने कार्यक्रम छ । तर, क्रेमलिनले उनीहरूको भ्रमणबारे तत्काल कुनै टिप्पणी गरेका छैनन्।
ट्रम्पले आफूले पठाएका दुवै वार्ताकारले यसअघि गाजा र इरानसम्बन्धी युद्धविराम वार्तामा महत्वपूर्ण भूमिका खेलेको बताए। उनले शान्ति स्थापनाका लागि आफ्नो प्रशासनसँग स्पष्ट योजना रहेको दाबी गरे। यद्यपि, प्रस्तावमा युक्रेनले आफ्नो भूभागको केही हिस्सा रुसलाई छोड्नुपर्ने विषय समावेश छ कि छैन भन्नेबारे ट्रम्पले स्पष्ट पारेनन् ।
अमेरिकी कूटनीतिक प्रयास भइरहेका बेला रुस र युक्रेनबीच लामो दूरीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण भने तीव्र बनेका छन् । पछिल्ला आक्रमणका कारण सर्वसाधारणको मृत्यु र घाइते हुने क्रम पनि बढेको छ।
ट्रम्पको घोषणा हुनुभन्दा केही घण्टाअघि रुसी ड्रोनले युक्रेनको राजधानी किएभस्थित सुरक्षा सेवाको मुख्यालयमा आक्रमण गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बताए। उनका अनुसार आक्रमण सुरक्षा निकायका कार्यवाहक प्रमुखको कार्यालयलाई लक्षित गरिएको थियो। युद्ध सुरु भएयता सुरक्षा सेवा मुख्यालयमा भएको यो पहिलो आक्रमण भएको बताइएको छ।
आक्रमणपछि जेलेन्स्कीले अमेरिकी दूतहरूको भ्रमण अवधिभर अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। उनले युक्रेनले उक्त अवधिमा हवाई आक्रमण नगर्ने र रुसले पनि पारस्परिक रूपमा हवाई आक्रमण रोक्नुपर्ने बताए।
रुसले उक्त प्रस्तावबारे तत्काल प्रतिक्रिया जनाएको छैन। यसअघि जेलेन्स्कीले रुसले युद्ध जारी राखे युक्रेनी ड्रोनका कारण रुसी हवाई क्षेत्र सुरक्षित नरहने चेतावनी दिनुभएको थियो।
विट्कफ र कुशनरको भ्रमण ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछि उनीहरूको युद्धग्रस्त किएभ भ्रमणको पहिलो अवसर हुनेछ। दुवै जना यसअघि रुससँगको कूटनीतिक प्रयासका क्रममा पटक–पटक मस्को पुगेका थिए।
यो भ्रमण अमेरिकी गुप्तचर निकायका प्रमुख जोन र्याट्क्लिफको हालैको मस्को भ्रमणपछि हुन लागेको हो। अमेरिकी सञ्चारमाध्यमका अनुसार र्याट्क्लिफले रुसलाई उत्तर एटलान्टिक सन्धि संगठनका सदस्य राष्ट्रमाथि आक्रमण नगर्न चेतावनी दिएका थिए।
यस्तै, यसै साता अमेरिकाले उत्तर क्यारोलिनामा भएको बीस राष्ट्र समूहको बैठकमा रुसी अर्थमन्त्रीको सहभागितालाई स्वागत गरेको थियो।
ट्रम्प प्रशासनको पछिल्लो पहलले रुस–युक्रेन युद्ध अन्त्य गर्न कूटनीतिक बाटो पुनः खोल्ने प्रयासलाई तीव्र बनाएको छ। तर, युद्धविराम र सम्भावित शान्ति सम्झौताका मुख्य सर्तहरूमा मस्को र किएभबीच अझै गहिरो मतभेद कायम छन्।




